काठमाडौँ- पशुपतिनाथको मन्दिरमा आज पितृका नाममा महादीपदान हुने भएको छ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदै छ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान गर्ने चलन रहिआएको छ। बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको बताए। उनले भने, ‘मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ।’ उनले मृतक परिवारभित्र सदस्यले दिवङ्ग आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छर्ने गरेको उल्लेख गरे।
निर्देशक खतिवडाले भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बाली बस्ने स्थानमा सुरक्षा व्यवस्था, टेन्ट, पाल तथा पार्किङ मिलाइएको जानकारी दिए। कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना हुन नदिन, मदिराजन्य पदार्थ बिक्री वितरणलगायतका गतिविधिमा निगरानी राख्न विशेष सुरक्षा टोली परिचालनका ठाउँ ठाउँमा सीसी क्यामरा जोडिएको उनले बताए।
कोषले बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरवरपरका क्षेत्रमा माछा मासु, जाडँ रक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्री–वितरणमा रोक लगाइएको जनाएको छ।
पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा १ रति सुवर्णदानसरह हुने, दिवङ्गत पितृले संसारमा भड्किनु नपर्ने विश्वाससहित पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्ने चलन छ।


