भक्तपुर- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताएका छन्।
बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले यस्तो बताएका हुन्।
प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानी सम्बन्धी २ दिने कार्यक्रममा सभामुख पाठकले बागमती प्रदेशसभाले गरेको हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताए।
‘प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ,’ उनले भने।
संसद्को मुख्य काम ऐनको रुप दिनु भए पनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरूपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिले कै भएको उनको भनाइ थियो।
‘सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनु पर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने।
कार्यक्रममा उपसभामुख अप्सरा चापागाँईले प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्नेमा जोड दिइन्।


