महेन्द्रनगर- विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठूलो सीतारामको आकृति तयार गरिएको छ।
जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए।
नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्यापक रुपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए।
‘धार्मिकस्थलका रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ,’ उनले भने, ‘अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ।’
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले प्रतीमालाई विश्वसम्पदाको सूचीमा ल्याउनका लागि पहलकदमी लिइरहेको बताए।
सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने बताए।
सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम सङ्कलन गरी काम गरेको पनि बताए। नगरप्रमुख साहले सीतारामको आकृति बनाउने शतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवाद पनि दिए।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले आजदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रणा दिए।

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव विधिमा शुक्रबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव र दुलहा पक्षका प्रतिनिधित्व गर्नुभएका राम मन्दिरका महन्थ राम गिरी ‘सम्धी मिलन’ गर्दै। तस्बिर निरंजनकुमार साह/रासस
महासेठले ८० प्रतिशत अन्नको बर्बादी हुन नदिने योजना रहेको बताए। उनले बर्बाद हुनबाट बचेको अन्नलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै वितरण गर्ने योजना रहेको पनि बताए। उनले सीतारामको आकृति बनाउने योजना डेढ महिनाअघिको रहेकाले यसलाई पूर्णता दिनका लागि हामीले पनि पहलकदमी लिएको बताए।
महासेठले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको बताए। निर्देशक तथा कलाकार गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए।
यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड बनाइएको थियो। जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए।


