काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू पाँचथरको फिदिमबाट हेलिकोप्टरमा चढेर चिवा भन्ज्याङ पुगेका छन्। मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राको अन्तिम दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हेलिकोप्टरमा यात्रा गरेका हुन्।
यात्राको १८औं दिन पाँचथर सदरमुकाम फिदिमदेखि चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो। कच्ची बाटोका कारण ओलीलगायतका नेताले हेलिकोप्टर प्रयोग गर्नु परेको ओलीको सचिवालयले जानकारी दिएको छ।
यात्राको अन्तिम दिन झन्डै १०१ किलोमिटर दुरीमा यात्रा गर्ने तयारी थियो। गाडीबाट छिचोल्न नसकेपछि ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकोप्टरबाट चिवा पुगेका हुन्।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको संकल्पयात्रा आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ। अध्यक्ष ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका छन्।
एमालेले पुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानका उपलब्धि सार्वजनिक गर्ने बताएको छ।


