काठमाडौँ- रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न गएका अर्का एक नेपालीको मृत्यु भएको सार्वजनिक भएको छ। कैलाली जिल्ला टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको खुलासा भएको हो।
परिवारका सदस्यले केही दिनअघि मात्र शाहको मृत्यु भएको खबर पाएका थिए। उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेपछि यो घटना सार्वजनिक भएको हो।
मंसिर १० गते नै भरतको मृत्यु भएपनि उनको परिवारमा भने हालै खबर गरिएको थियो। भरतसँगै रुसी सेनामा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको बताइएको छ।
गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन्। उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए। उनी उतैबाट रुस गएका थिए। भरतका श्रीमती, नाबालक छोरा र छोरी छन्।
उता राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जानेस्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’ 
रुस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका, अझै पनि सयौँको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको जनाएको छ।
त्यस्तै, नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन भएको समेत आयोगले भनाइ छ।
रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको विवरण यसअघि नै सार्वजनिक भएको थियो। मंसिर १८ गते परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी मृतकको विवरण सार्वजनिक गरेको थियो।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका-१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-५ का प्रितम कार्की, मेलुङ गाउँपालिका-६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका-५ इलामका गंगाराज मोक्तान छन्।
नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिनसमेत रुसलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयको भनाइ छ।



