काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। हिजोदेखि काठमाडौँमा सुरू भएको बैठक सोमबार पनि जारी रहने भएको हो।
राप्रपाका प्रवक्ता तथा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेका थिए।
अध्यक्ष लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, सत्ता केन्द्रित नभइ आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिएर सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति रहने, देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन्।
उनले बैठकमा भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्तसमेत गरेका थिए।
बैठकमा महामन्त्री धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका थिए भने हिजोको बैठकमा प्रदेश प्रमुखहरूले आआफ्नो प्रदेशको प्रतिवेदन पेश गरेका छन्।


