काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आफूहरूले मागिरहेको बताएका छन्। नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ। अर्थमन्त्रीजी यहीँ हुनुहुन्छ, पुस ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौँ नछाड्न प्रधानमन्त्रीले भनेको सुनेको छु। रिपोर्ट कार्ड हेर्ने होला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु,’ उनले भने।
संसदीय व्यवस्थामा मन्त्रीहरूले जतिसुकै काम गरे पनि त्यसको जसअपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ। ‘अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ,’ उनले भने।
अहिले गणतन्त्रमाथि देशैभर आक्रमण भइरहेको कोइरालाले बताए। उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।


