पोखरा- पोखरास्थित मित्रमिलन सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोप लागेका पोखरा-२१ का वडाध्यक्ष दीपक सुवेदी फरार हुँदा वडाबासीको काम प्रभावित भएको छ। मंसिर १६ गते अदालतबाट पक्राउ पूर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी फरार बनेका हुन्।
सोही सहकारीमार्फत् ठगी गरेको आरोपमा दुई जनालाई भने कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पुर्जी जारी भएपछि भागेका स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो।
यो प्रकरणमा यसअघि प्रहरीले पोखरा-२२ घर भई लेकसाइडमा व्यवसाय गर्दै आएका राजु बराल पक्राउ परेका छन्। पक्राउ पूर्जी जारी भए लगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन्।
सहकारीकै बचतकर्ताको रकम फिर्ता गर्न दिइएको चेक नसाटिएपछि बैंकिङ कसुरमा सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
पोखरा–९, नयाँबजारमा मुख्य कार्यालय रही प्रदेशका विभिन्न ठाउँमा शाखा सञ्चालन गरेको यस सहकारीले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
रकम हिनामिना गरी ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो। मंसिर १६ गते पक्राउ पूर्जी जारी भएपछि ठगीमा संलग्न भएको आरोप लागेकाहरूको खोजी कार्य सुरु गरेको कास्की प्रहरीको दाबी छ।
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुलीलगायतलाई पक्राउ पुर्जी जारी भएको थियो। उनीहरु फरार अवस्थामै छन्।


