मकवानपुर- अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन्। नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।
‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुपर्यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन।’
मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन भएको बताएका उनले कांग्रेसबाट सरकारमा सहभागी भएका आफूहरुले काम गरिरहेको बताए। ‘देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन,’ उनले भने, ‘तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं।’
उनले आफू अर्थमन्त्री बनेका बेला अर्थतन्त्र अप्ठ्यारोमा रहेको बताएका उनले अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिएको उल्लेख गरे। ‘त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ। बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ,’ उनले भने, ‘घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो। त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो। जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो। तर सधैं भाउ बढ्ने अवस्था थिएन। त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन्।’
बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ। आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभिए कांग्रेसले बहुमत ल्याउन सक्ने बताए। एकताभाव, सद्भाव, सहकार्य र समर्पण कमी आउन नहुने बताए।
‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेवित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ। कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ।’ सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ। आम जनताले त्यही झुटोलाई सत्य ठान्छन्। झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न।’


