काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमित भन्दा भिन्न पोसाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्रबार महानगरमा सञ्चालित सबै विद्यालयलाई परिपत्र जारी गर्दै महानगले यस्तो चेतावनी दिएको हो।
चाडपर्वका नाममा विद्यार्थीलाई नियमित भन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले परिपत्र जारी गरिएको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन्।
अधिकारीका अनुसार कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने छ।



