२०८३ कार्तिक १३ गते बिहिबार

राज्यस्तरबाट ‘योगमाया’को मूल्यांकन खोज्ने पुस्तक

 |  श्याम रिमाल
Sanket

श्याम रिमाल

काठमाडौँ, चैत २७
yogmaya1

काठमाडौँ- विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ। त्यसमाथि विसं २०७४ मा प्रकाशित साहित्यकार नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यासले साहित्यमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ नै पाएपछि अझ बढी प्रचारप्रसार भई सर्वसाधारणले उनको खास योगदानबारे बुझेकै हुनुपर्छ।

राज्यले राष्ट्रिय विभूति सीता र पासाङल्हामु शेर्पा तथा विश्वमा बौद्धधर्म प्रचारमा विशेष भूमिका निर्वाह गर्ने नेपालकै छोरी भृकुटीकै स्तरमा नराखे पनि उनमाथि विभिन्न लेखकले दुई दर्जनभन्दा बढी कृति लेखेर प्रकाशन पनि गरिसकेकाले प्रसिद्ध साहित्यकार तथा मानवाधिकारवादी पारिजात जत्तिकै हैसियत भने आफ्नो समयमा योगमाया न्यौपाने (१९२४–१९९८) को रहेको अनुमान भने गर्न सकिन्छ।

योगमायासँग सम्बन्धित सूचना तथा उनको जीवनी र समाज सुधारका कामबारे २० को दशकदेखि नै प्रकाशन भएको पाइन्छ। ‘जोसमनी सन्तपरम्परा र साहित्य’ (जनकलाल शर्मा, साझा प्रकाशन, २०२०) देखि ‘प्रेमनारायण र अन्य साधकहरू’ (उत्तम पन्त, सिमल बुक्स पब्लिकेसन, २०७६) सम्मका कृति प्रकाशन भइसक्दा पनि उनीमाथिको अध्ययन–अनुसन्धान–खोज जारी नै छ।

पत्रकार एवं लेखक लेखनाथ भण्डारी (हाल संयुक्त राज्य अमेरिका)ले उनीबारे नेपालमै रहँदाको स्थलगत खोज र अध्ययनलाई जारी राखी प्रकाशन गरेको ‘जीवनी र मूल्याङ्कनः योगमाया’ (वैकल्पिक समूह, काठमाडौँका लागि डा गुणराज सुवेदी, २०७९)ले उनको योगदानबारेमा प्रकाश त पारेको छ नै, उनको समग्र मूल्याङ्कनसमेतको आवाज उठाएर देशभक्त मनिषीलाई राज्यले हेर्ने दृष्टिकोणबारे ध्यानाकर्षण गरेको छ।

इतिहासको उत्खनन, दृष्टिकोण, विश्लेषण र मूल्याङ्कन, अनुसूची र दस्तावेज गरी चार भागमा प्रकाशित कृतिमा लेखक, सङ्कलक, सम्पादक भण्डारीले ७४ जना लेखक (अनुसूचीमा रहेका लेखकबाहेक) का लेखसमेत सङ्कलन गरेर र नेपाल भाषा, मैथिली र अङ्ग्रेजीमा केही विवरण दिएर योगमायालाई स्थापित गराउने र उनीसँग सम्बन्धित ऐतिहासिक तथ्यको पुष्टि गर्ने कोसिस गरेका छन्। पुस्तकमा योगमायाको ‘सर्वार्थ योगवाणी’ कृति पनि समावेश गरेर पाठकलाई अझ तृप्त पार्न खोजिएको छ भने अनुसन्धाताहरूलाई धेरै खुराक दिइएको छ।

भोजपुर जिल्लाको हाल षडानन्द–१ मझुवाबेँसी, सानो सिम्ले (तत्कालीन नेपालेडाँडा–५) मा जन्म लिएकी योगमायाले तत्कालीन सरकारले ‘धर्मराज्य’ को मान्यता वा ‘सत्य धर्म भिक्षा’ को माग पूरा नगर्दा आफ्ना ६७ जना अनुयायीसहित अरुण नदीमा समाधि लिएको घटनाले नै योगमायालाई अमर बनाएको हो।

बालविवाहको विरोध र पुनःविवाहको मान्यता, जातीय प्रथा र धर्मका आधारमा हुने भय, भ्रम र आतङ्क, घुसखोरी, भ्रष्टाचार, सामाजिक असमानता, शोषण र अन्यायको विरोध गर्दै राणा प्रधानमन्त्रीहरुलाई पनि सन्देश पठाएकी योगमायाले जुद्धशमशेरबाट ‘धर्म पालना’ गर्ने ‘सत्य कबोल’ पाएकी थिइन्। आश्वासन पाएको धेरै समय बितेपछि पनि सरकारबाट सत्य–धर्म–भिक्षाको पालना र आफ्ना माग पूरा नभएकाले उनले अनुयायीका साथ विसं १९९५ मा अग्निदाहको प्रयास र पछि जलसमाधि लिएकी थिइन्।

आजभन्दा करिब एक सय वर्षअघि नै आफू चेतनशील भई सङ्गठितरूपमा सामाजिक विसङ्गति–विकृतिका रूपमा रहेका प्रचलन, अन्धविश्वास, वनजङ्गल, वातावरण र चरनको सुरक्षा, जातिभेद प्रथा, चर्काे ब्याजको विरोध गर्दैै समाज सुधार र सामाजिक न्याय, महिला र विधवाको अधिकारका साथ धर्मराज्यको माग गर्न सक्ने योगमाया र उनका अनुयायीको साहस सो समयको प्रगतिशील कदम मान्न सकिने प्रस्तुत कृतिमा समाविष्ट लेखका लेखकहरूले बताएका छन्।

प्रगतिशील लेखक निनु चापागाईंले ‘प्रगतिशील कवि योगमायाको मूल्याङ्कन’ शीर्षकमा लेखेका छन्, ‘राणा शासनको जहानियाँ पुरुष हैकमवादी समाजमा औपचारिक शिक्षाबाट वञ्चित एउटी नारी भएर पनि उनले राणा शासनलाई धर्मराज्यको माग राखेर हावाकावा खेलाइएकी थिइन्। वास्तवमा उनले त्यतिखेर समाजको प्रगतिका निम्ति वैचारिक नेतृत्व नै प्रदान गरेकी थिइन्। उनले महिलाका समस्यालाई मात्र होइन, सम्पूर्ण उत्पीडितवर्गको समस्यालाई आफ्ना रचनामा महत्त्वपूर्ण स्थान प्रदान गरेकी छन्।’

“माहा राज् छन् दर्वारमा हेर्न आउँदैनन्,
दुःखी जन्ले निञा निसाफ् सिधा पाउँदैनन्।।
जागिरदार लोभी छन् निञा हेर्दैनन्,
मर्नु पर्ने शरीर हो विचार गर्दैनन्।”
(योगमाया, सर्वार्थ योगवाणी, विसं १९८८)

हुन पनि त्यतिबेला राजा र सरकारको यसरी सोझै विरोध गर्न सक्ने तागत कसको हुन सक्थ्यो र? सोही कृतिमा उनी अर्काे श्लोकमा घुस्याहा कर्मचारीको विरोध यसरी गर्छिन्, ‘अहिले गर्छाैं भलादमी हो आफ्ना खुसइले, भितृ जरा हालिसक्यो लोभी घुसइले।।

अहिले मात्र पचेको छ, भरे पच्ने छैन,
सम्झी राख सत्य वचन झुटो हुने छैन।।

अनुसन्धाता लेखनाथ भण्डारीले सर्वप्रथम राज्यका तर्फबाट त्यस आन्दोलनको आधिकारिक अध्ययन र अभिलेखीकरण हु्नुपर्ने, त्यसक्रममा भएका हिंसा, दमन र क्षतिका लागि सम्बन्धित पक्षसँग राज्य अर्थात् सरकारले क्षमायाचना तथा दुःख प्रकट सार्वजनिकरूपमा गर्नुपर्ने र क्षतिपूर्ति वा संरक्षणका अन्य विकल्प सम्बन्धित पक्षलई उपलब्ध गराउनुपर्ने भनी ध्यानाकर्षण पनि गराएका छन्। उनी भारतको आसाम जाँदाको शोधखोज हुन बाँकी नै भएको पनि कृतिमा उल्लेख छ।

अहिले फरकफरक व्यक्ति वा संस्थाले उनको आकृति आउने तस्बिर फरकफरक तरिकाले प्रकाशनमा ल्याएकाले आधिकारिक तस्बिर तयार गर्न पनि उनले सुझाएका छन्। ‘शक्तिहजुर’को योगदान हेर्दा उनलाई राष्ट्रिय विभूतिसरहकै मान्यता पनि दिनुपर्ने हुन्छ। राष्ट्रियस्तरमा उनको जन्मदिन वा उनले समाधि लिएको दिन हरिशयनी एकादशीका दिन ‘भक्तिजी’को स्मृतिमा सरकारीस्तरबाट सभासमारोह आयोजना गर्नुपर्ने देखिन्छ।

मुलुकका राष्ट्रिय विभूतिको परिचय दिने पुस्तक पञ्चायतकालदेखि नै सूचना विभागले प्रकाशन गर्ने गरेको पाइन्छ। यसबाहेक देशको समग्र विवरण झल्काउने इतिहास तथा इतिहास बनाउने व्यक्तित्वहरूका समुच्चा देनबारे ज्ञान प्राप्त गर्न धेरै पुस्तक वा ग्रन्थहरू पल्टाउनुपर्छ जुन अप्राप्य र सर्वसुलभ नहुन पनि सक्छन्। सिनास, साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठान आदि सरकार नियन्त्रित संस्थाले प्रकाशन गर्ने कतिपय पुस्तकहरू पनि व्यक्तिगतस्तरमा गरिएको खोजअनुसन्धानमा आधारित हुनाले तिनको विश्वसनीयताको हदमा भने संशय नै हुन्छ। लेखक भण्डारीले भने झैँ राज्यका निकायबाट योगमाया जस्तै इतिहासको गर्तमा हराएका, ओझेल परेका व्यक्तित्वको खोजी गरी उजागर गरिनु जाती हुने छ।

प्रवासको व्यस्त समयबाट केही बचाएर व्यक्तिगत प्रयासबाट आएको प्रस्तुत कृति योगमायाको जीवनी र उनको योगदान बुझ्न प्रशस्त छ। तथापि पुनरुक्ति धेरै भएकाले पाठकलाई झिँजो भने लाग्न सक्छ। सामान्य वर्णविन्यासका दोष पनि छन्। कृतिलाई लेखकको मौलिक वा सङ्कलित वा सम्पादित के कृति भन्ने, त्यो पनि अलमलमा परिन्छ। स्थलगतसमेतको प्रशस्त खोजी र सूचनाले भने यसको आधिकारितालाई बल नै दिन्छ।

प्रकाशित: २०७९ चैत २७ गते सोमबार ०७:३४
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना