चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको खोया प्रहार सुनियोजित भएको बताएका छन्। सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाबयात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले यस्तो जिकिर गरेका हुन्।
‘पोखरामा ममाथि भएको मकैको खोया प्रहारसमेत वेल प्लान्ड (सुनियोजित) जस्तो देखिएको छ,’ उनले भने। आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको उनको दाबी छ।
‘मैले लोन लिएको प्रमाण चाहियो। मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्यो’, लामिछानेले भने, ‘जुन सहकारीमा म सदस्य छैन। लोन मैले लिएको भन्ने छ, तिर्न पाउँ।’
उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको बताए। ‘उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो। मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो। त्यसका लागि मैले सम्झौता गरेको छु’, उनले भने, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन। मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धराशायी भयो। टेलिभिजनलाई त्यसको असर पर्यो। टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो।’
पूर्वगृहमन्त्री लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गरेका थिए। गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको उनको दाबी छ।
‘अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन,’ उनले थपे, ‘मलाई त्यसमा कुनै चासो छैन। तपाईँ सम्हाल्नुस्। अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला। भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन। तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु- गृहमन्त्रीज्यू! तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला!’


