काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सिंहदरबारले गरेको असमन्वयका कारण सिर्जना भएका समस्याको चाङ फोहोरको थुप्रोमा देखोस् भनेर त्यहाँको फोहोर नउठाउने निर्णय लिनुपरेको स्पष्टीकरण दिएका छन्।
बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले फेसबुकमा स्पष्टीकरण लेखेका छन्।
महानगर कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाहको गुनासो छ।
‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न,’ उनले लेखेका छन्, ‘पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ।’
उनले १४ वटा मन्त्रालयले समन्वय नगरेको फेहरिसस्त प्रस्तुत गर्दै सिंहदरवारको फोहोर नउठाउने निर्णयमा पुगेको उल्लेख गरेका छन्।


