काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले वनमा काठ कुहिएर जाने तर उपयोग नहुने व्यवस्था हट्नुपर्ने बताएका छन्।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।
‘नेपाली उद्योगलाई सहज गर्ने कुरामा हामीले सहयोग पुर्याउनुपर्छ। वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ,’ उनले भने, ‘आयातित वस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ। यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ।’
नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो। ‘काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन,’ उनको भनाइ थियो।
फर्निचरमा आत्मनिर्भर बन्न सकिने बताएका उनले निर्यातकोप्रशस्त सम्भावना रहेको जिकिर गरे।
‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ। हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ,’ उनले भने, ‘यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो।’
‘ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ,’ उनले भने।


