काठमाडौँ- ललितपुरको बालकुमारीमा शुक्रबार पीडित भएका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको र घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए।
प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका थिए। पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताए।
‘छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।
सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।


