काठमाडौं- आफ्नो कुरा कसैले नबुझेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुनासो गरेका छन्। नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो कुरा कसैले नबुझ्दा पिडा हुने गरेको बताएका हुन्।
‘मेरो कुरा कसैले बुझ्दैन, त्यसैले पीडा हुन्छ,’ उनले भने। आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्नेमा जोड दिँदै आएको बताए। यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताए ।
उनले नेपालका उच्च भेगमा रहेका गोठहरुलाई आयस्रोतको माध्यम नबनाउने हो भने त्यहाँको गोठालो जीवनको समेत अन्त्य हुने उनको भनाइ थियो। ती भेगमा पर्यटकले आफैं चौंरी दुहुने, आफैं मही पार्ने, आफैं पकाउने कुराको ब्राण्डिङ गर्न सकिने उनको भनाइ छ ।


