काठमाडौं- राज्यव्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो।
बैठकले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
‘पुस १३ गते शुक्रबार भएको ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुईजना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने,’ समितिका सभापति रामहरि खतिवडा बैठकका निर्णय सुनाउँदै भने, ‘दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने। उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने।’


