काठमाडौँ- नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा पूर्वअध्यक्ष वरिष्ठ पत्रकार गोकुल पोखरेलको सोमबार बिहान १०:३० बजे काठमाडौंमा निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार ८८ वर्षीय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले पीडित थिए।
राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट कायममुकायम महाप्रबन्धकसम्मको जिम्मेवारी सम्हालेका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको भूमिका पनि निर्वाह गरेका थिए।
नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने स्वर्गीय पोखरेल मानव अधिकार आयोगको सदस्यसमेत बनेका थिए।
मंगलबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
पूर्वीय दर्शनका प्रख्यात विद्वान तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँलो छोरा गोकुलका श्रीमती, दुई छोरी र एक छोरा छन्।
नेपाली पत्रकारिता, पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले बताए।
पोखरेलको निधनप्रति इन्स्टिच्युटले शोक व्यक्त गरेको छ।
