काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसद्लाई जानकारी गराएको छ। रास्वपाका सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार यो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको बताएका छन् ।
उनले श्रेष्ठलाई स्पष्टीकरण सोधिएको उल्लेख गरे । प्रमुख सचेतक परियारले यो घटनाबाट संसद्को गरिमामा परेको आँचप्रति क्षमा मागेका छन्। ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’


