काठमाडौँ- तनहुँमा एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १८ जनाले ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रावासी स्रोत केन्द्रका अनुसार यस वर्षको पछिल्लो ६ महिनाको अवधिमा ८ जनाले वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका हुन्।
स्रोत केन्द्रकी तनहुँकी संयोजक लुना रानाका अनुसार ५ वर्षको अवधिमा जिल्लामा ७२ जनाले ज्यान गुमाएका छन्। सन् २०१९/२०मा १ जना, २०२०/२१ मा १८, २०२१/२२मा २४, २०२२/२३ मा १८, ६ महिनाको अवधिमा ८ जना र अन्य जिल्ला भई तनहुँमा अस्थायी बसोबास गर्ने ३ गरी ५ वर्षमा ७२ जनाको मृत्यु भएको छ।
मृत्यु भएका परिवारले ९ करोड १२ लाख ९२ हजार २६१ रुपियाँ क्षतिपूर्ति पाएका छन्। सन् २०१९/२०मा दुई लाख १० हजार, २०२०/२१ मा १ करोड ८६ लाख ५० हजार, २०२१/२२मा तीन करोड ६४ लाख ८ हजार, २०२२/२३मा दुई करोड ९३ लाख ९४ हजार २६१, ६ महिनाको अवधिमा ४२ लाख र अन्य जिल्ला घर तनहुँमा अस्थायी बसोबास गर्ने तीन जनाले ६३ लाख रुपियाँ क्षतिपूर्ति पाएका छन्।
तनावमा र अत्यधिक काम गर्ने लगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको केन्द्रले जनाएको छ। ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले गर्दा लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रकी परामर्शदाता गोमा तिवारी बताउँछन्।
मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना लगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।


