काठमाडौँ- नेपालमा आन्तरिकतर्फ उडान गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। देशका विभिन्न ठाउँमा विमानस्थल र हवाइ सुरक्षामा सुधार भएपछि आन्तरिक उडानतर्फ यात्रुको आकर्षण बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सन् २०२२ को तुलनामा २०२३ मा ३७ प्रतिशतले हवाइ यात्रु बढेका छन्। सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ यात्रुले सेवा लिएका थिए भने सन् २०२३ के ११ महिनामा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन्।
यस्तै, सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशतले हवाई यात्रु बढेको प्राधिकरणले जनाएको छ। सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि सन् २०२३ को मार्चदेखि हवाई क्षेत्र पुरानै लयमा फर्किएको प्राधिकरणले जनाएको छ। यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेका छन्।
प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२३ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ लाख ५४ हजार ३९३ यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। सन् २०२२ को सोही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ लाख ४५ हजार ५४० जना यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए।
सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ। नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या सन् २०२२ मा २९ रहेकामा हाल ३० पुगेको छ। हाल नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति पाएका २१ मध्ये १९ वटा वायुसेवा कम्पनीले ३५ वटा विमानस्थलमा आन्तरिक हवाई सेवा दिँदै आएको प्राधिकरणले जनाएको छ। हाल देशमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल छन्।
पछिल्लो ११ महिनामा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक सबैभन्दा बढी लुक्ला विमानस्थलमा ३४ हजार ६०३, पोखरामा १४ हजार ५९३, नेपालगन्जमा ११ हजार ६९८, विराटनगरमा १० हजार ७९५ र भैरहवामा आठ हजार ७८६, उडान अवतरण भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सोही अवधिका सबैभन्दा कम रेसुङ्गा विमानस्थलमा ६, इलामको सुकिलुम्बा विमानस्थलमा ३०, खानीडाँडामा ३, साँफेबगरमा ४६ र बझाङमा ५५ मात्रै उडान अवतरण भएको प्राधिकरणले जनाएको छ।


