दमौली- राष्ट्रपति रामचन्द्र पौडेलले गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले गाउँमा रोजगारीको अवसर सिर्जना नहुँदा विकासको सुविधा उपभोग गर्ने मान्छे कोही नहुन पो हुन् की भन्दै चिन्ता व्यक्गत गरेका हुन्।
तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भाैतारिने अवस्था रहेको गुनासो गरे। ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौं। म भन्छु, त्यो पनि पूरा गरिन्छ। तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन् ?,’ उनले भने, ‘विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ। आखिर किन भयो यस्तो? यो प्रश्न म आफैसँग गरिरहेको छु। उत्तर पनि म सँगै छ। गाऊँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बनेन।’
राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको बताए। ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ। यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो। उतै बस्नु भयो। गाउँको समस्या यही हो,’ उनले भने, ‘अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ।’
राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुगेका पाैडेलले अहिलेको पहिलो खाँचो सुशासन भएको बताए। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यकता रहेको बताए।
‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ। त्यसलाई हामीले चिन्न सकेनौं। हामी फोस्रा नारामा बढी बहकियौं। कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ? त्यो ठम्याएर खेती गरौं। जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं,’ उनले भने, ‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौ मेघावाट उर्जा उत्पादन गरी छिमेकमा बिक्री गरौं, हामी धनी हुन्छौं। आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन। आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन।’
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गर्नुपर्नेमा उनको जोड थियो।


