काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले आरतीको भिडियो खिच्न नपाउने सूचना जारी गरिएको प्रति आफूहरूको कुनै संलग्नता नभएको दाबी गरेको छ। कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार विज्ञप्ति जारी गर्दै अनभिज्ञता प्रकट गरेका हुन्।
‘सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सूचनामा कोषको लोगोको दुरुपयोग भएको समेत कोषले दाबी गरेको छ। उक्त प्रक्रियाप्रति कोषले असहमति जनाएको छ। बुढासुब्बा डिजिटल प्रालिले आफूहरूको सहमतिबिना नै कोषको लोगो प्रयोग गरेको कोषले आरोप लगाएको छ।
बूढासुब्बा डिजिटल प्रालिले भने केही समय अघि सूचना जारी गर्दै श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको भन्दै सूचना जारी गरेको थियो। ‘यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं,’सूचनामा भनिएको थियो।
उक्त सूचना भने तीन महिना अघि नै जारी गरिएको पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव राजुकुमार खत्रीको भनाइ छ। बिहीबारदेखि उक्त सूचना समाजिक सञ्जालमा भाइरल बनेको उनको भनाइ छ। सूचनाका विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको र त्यस विषयमा कानुनी परामर्श गरिएको खत्रीले बताए।

बुढासुब्बा डिजिटल र कोषको नामबाट पशुपति क्षेत्रमा टाँस गरिएको अघिल्लो सूचनामा ‘डिजिटल कपिराइट ऐन’ अन्तर्गत कारवाही हुने लेखिएको छ। कोषले आफूहरूको लोगो दुरुपयोग भएको भन्दै पुस २० गते जारी गरेको विज्ञप्तिमा पनि अघिल्लो सूचनालाई कोट गर्दै डिजिटल कपिराइट ऐन नै उल्लेख गरेको छ। यद्यपि हालसम्म नेपालमा यस्तो नाम गरेको कुनै कानुन छैन।
यस्तै आशय आउने ‘प्रतिलिपि अधिकार ऐन, २०५९’ कार्यान्वयनमा छ। उक्त ऐनको दफा ४ मा धर्मसम्बन्धी विषयमा कपिराइट लागू नहुने उल्लेख छ। तर पशुपतिको आरती पनि धार्मिक विषयमा भएको र त्यसमा कपिराइट ऐन लगाएर धार्मिक विषयका भिडियोलाई आपराधीकरण गर्न खोजिएको भन्दै विरोध भइरहेको छ।
बुढासुब्बालाई डिजिटल राइट बिक्री गर्ने काम आफू आउनुभन्दा अघि नै भएको सदस्य सचिव खत्रीले बताए। उक्त विषयमा आफूले अध्ययन र परामर्श गरिरहेको उनको भनाइ छ।


