काठमाडौँ देशभरको तापक्रममा तीव्र गिरावट आएको छ। जुम्लामा देशभरकै सबै भन्दा बढी चिसो भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लामा माइनस ६.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ। काठमाडौँमा पनि अन्य दिनको भन्दा आज तापक्रममा गिरावट आएको छ। काठमाडौँको तापक्रम ३.५ डिग्री रहेको छ।
जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ। जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका तराई भूभागका केही स्थानहरू हुस्सु कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


