काठमाडौँ- सर्लाहीको बरहथवामा शुक्रवार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ।
अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रवार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो।
साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्दै आएका थिए। उनलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।
मृतक युवकको शव पोस्टमार्टमका लागि शुक्रवार बेलुकादेखि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने प्रयास गरे पनि स्थानीयले शव उठाउन नदिएको प्रहरीको भनाइ छ।
शुक्रवारको झडपमा घाइते भएका प्रहरी र प्रदर्शनकारीमध्ये प्रहरी सहायक निरीक्षक (असई) भिखारी यादवबाहेक अन्य अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। गम्भीर घाइते असई यादवको वीरगन्जमा उपचार जारी छ।


