काठमाडौँ- सर्लाहीको बरहथवामा शुक्रबारबाट लागेको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम नटरेको भन्दै आइतबार बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको छ।
त्यस अवधिमा सो क्षेत्रमा कुनैपनि किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ।
कर्फ्यु हटेपछि पनि स्थिति सामान्य बन्ने नदेखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतिरचोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको छ।
बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरिएको थियो।


