काठमाडौँ- त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द भएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्द भएको जनाएको छ।
समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो। सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको हो।
शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो।
विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए। सोहीअनुसार पुरानो प्रक्रिया रद्द भएको हो।
अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुनेछ।


