बाँके- गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी भनिने गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ। नेपालगन्जस्थित एक होटेलमा हतियार प्रदर्शन गरी भिडियो बनाएको आरोपमा बोगटीलाई बाँके प्रहरीले पक्राउ गरेको हो।
टिकटकमा बोगटीले हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए। नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँगै बोगटी पनि नेपालगञ्ज पुगेका थिए। मिलनसँग बोगटी बन्दुक बोकेर हिँडेको भिडियोमा देख्न सकिन्छ। भिडियो बोगटीकै टिकटक आइडीबाट पोस्ट भएको थियो।
बोगटीले भिडियोमा देखाएको हतियार अनुमति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुमतिप्राप्त भएपनि हतियार प्रदर्शन गर्न नपाइने व्यवस्था भएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। युवा सङ्घको महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नेपालगञ्ज पुगेका थिए।


