विराटनगर- विराटनगर महानगरपालिकाले नयाँ वर्षदेखि सार्वजनिकस्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने तयारी गरेको छ। महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ निषेधदेखि हर्नसम्म निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन्।
केही साताअघि महानगरले सरोकारवालालाई बोलाएर धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो। उक्त छलफलमा ध्वनि प्रदूषण पनि रोक्न सुझाव दिइएको थियो।
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन पनि निषेध गरिने भएको छ। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगर मेयर नागेश कोइरालाको भनाइ छ।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए। महानगरले सरसफाई, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाएका थिए। पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने मेयरको भनाइ छ।
‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ,’ मेयर कोइरालाले भनेका थिए, ‘सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ। महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु।’
महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलन लगायतका अभियान सञ्चालन गरिरहेको उनले बताए। पार्किङ स्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ।


