काठमाडौँ- काठमाडौँबाट पक्राउ परेका रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै छ। यौन हिंसा, हत्या र बेपत्ता लगायतका आरोपमा पक्राउ परेका उनलाई मंगलबार सर्लाही पुर्याइएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति झण्डै २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको हो।
अहिले बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले जानकारी दिए।
‘आज उनलाई जिल्ला अदालतमा पेस गर्ने तयारी हामीले गरेका छौँ,’ एसपी धितालले भने, ‘उनीविरुद्धको बलात्कारसम्बन्धी एउटा मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।’
अदालतमा आजै बम्जन विरुद्धको मुद्दामा पक्ष विपक्षका वकिलहरूले बहस गर्ने उनले बताए। ‘सम्भवत निर्णय पनि आजै आउँन सक्छ,’ उनले भने, ‘बहस लम्बियो भने निर्णय आउन एकदुई दिन लाग्ला।’
एसपी धितालले अहिले बम्जनलाई अन्य थुनुवासँगै हिरासतमा राखिएको जानकारी दिए। ‘उनलाई हामीले कुनै विशेष सुविधायुक्त ठाउँमा राखेका छैनौँ। अन्य थुनुवाहरुसँग एउटै कोठामा राखेका छौँ,’ एसपी धितालले भने।
बम्जन विरुद्ध २१ असार २०७७ मा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।



