काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन्।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालविवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन्।
‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्यो। त्यो बेला नागरिकता हुनैपर्यो। यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ। विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ,’ उनले भनिन्, ‘कति जनाले बुबाआमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन्। लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो। यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ।’
धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन्।


