मलङ्गवा (सर्लाही)– हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। सर्लाही जिल्ला अदालतसमक्ष प्रस्तुत गरिएका बम्जनलाई थुनामा पठाउन जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले आदेश दिएको हुन्।
रेग्मीको इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
बम्जनका तर्फबाट ५ जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका थिए। बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिगमाथि जबरजस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा मुद्दा चलाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरेको थियो।
सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै ‘तपस्वी’ भनिने बम्जनविरुद्ध बालयौन शोषणको मुद्दा परेको थियो।
२०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरेको र पीडितलाई डर धाक धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा २०७६ माघ २३ गते जाहेरी दर्ता भएको थियो। सरकारी वकिलको कार्यालय सर्लाहीले २०७७ अषाढ १८ गते जिल्ला अदालत सर्लाहीमा अभियोग दर्ता गरिएको थियो।
अभियोग दर्ता भएपछि जिल्ला अदालत सर्लाहीले २०७७ चैत्र २१ गते पक्राउ पूर्जी जारी गरेको थियो।
प्रहरीका अनुसार बम्जनले तपस्वीको भेषमा विभिन्न अपराध गरेको आरोप छ। उनीविरुद्ध चार जना आनी बेपत्ता बनाएको आरोप छ।
जिल्ला अदालतमा बम्जनलाई पेस गरेपछि अदालत बाहिर उनका समर्थकको भिड लागेको छ।


