काठमाडौँ- नेपाल प्रहरीले फेसबुकसँग गौशाला-२६ को पहिचान सार्वजनिक गर्न खोज्नेहरुको विवरण माग गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकको मातृकम्पनी मेटासँग त्यस्तो विवरण माग गरेको हो।
प्रहरीले फेसबुकसँग विवरण मागेको ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए। ‘फेक प्रोफाइलबाट पहिचान सार्वजनिक गर्न प्रयास गरिरहेको देखिएको छ। यस्तो काम गरेकाहरूको विवरण फेसबुकसँग माग गरेका छौं,’ उनले भने, ‘मेटाले दिएको विवरणका आधारमा कसले कुन ठाउँबाट विवरण सार्वजनिक गर्न प्रयास गरेको भन्ने खुल्छ। यसपछि फेक अकाउन्टबाट गलत काम गर्नेहरूलाई पक्राउ गर्छौं।’
‘गौशाला २६’ क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत ठहर भएकी पीडित हुन्।
कतिपय नेपालीहरूले विदेशबाटै गौशाला २६ को पहिचान खुलाउने प्रयास गरिरहेका छन्। इन्टरपोलको सहयोगमा विदेशबाट गलत काम गर्नेहरू पक्राउ पर्न सक्ने उनको भनाइ छ। ‘नेपाली रहेछन् भने इन्टरपोलमार्फत पक्राउ गरी ल्याउन सकिन्छ,’ उनले भने, ‘विदेशी रहेछन् भने त्यहीँको कानुन अनुसार कारबाही गराउन सकिन्छ।’
गौशाला २६ को विवरण सार्वजनिक गर्ने प्रयास गरेको भन्दै ब्युरोमा जाहेरी परेको छ।
काठमाडौँ जिल्ला अदालतबाट बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए।
उनलाई ५ लाख जरिमाना गर्न पनि अदालतले फैसला गरेको छ। ५ मध्ये २ लाख पीडितलाई दिनुपर्ने क्षतिपूर्ति रकम भएको पन्थीले जानकारी दिए।
पुस १३ गते ढकालकै इजलासले लामिछानेले किशोरी (गौशाला २६) माथि बलात्कार गरेको ठहर गरेको हो।
गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ। एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको ठहर अदालतको छ।
२०७९ भदौ ५ गते लामिछानेले गौशाला २६ माथि काठमाडौँको होटलमा बलात्कार गरेको ठहर भएको हो। २०७९ भदौ २१ गते लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता भएको थियो।
त्यसबेला क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्न सन्दीप वेस्ट इन्डिजमा पुगेका थिए। उनी भदौ ६ गते नै त्यसका लागि प्रस्थान गरेका थिए। प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेका थिए। पछि इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनी नेपाल फर्किएका थिए। नेपाल फर्कनेवित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।
काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशविरूद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरे। पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गर्न आदेश गरेको थियो। विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त उच्चले राखेको थियो।
उच्चको आदेशविरूद्ध सन्दीप २०७९ फागुन १२ सर्वोच्च पुगे। फागुन १५ गते सर्वोच्चले उनलाई राष्ट्रिय खेलाडी भएको भन्दै विदेश जाने अनुमति दिएको थियो।


