काठमाडौँ- माघे संक्रान्तिसँगै मेलम्चीको पानी पनि काठमाडौँमा आउने भएको छ। वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यका वासीको धारामा मेलम्चीको पानी पुर्याउन थालिएको हो।
मेचलम्ची खानेपानी विकास समितिका अनुसार पुनःवितरणको सुभारम्भ प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ।
पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ। त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो। मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो। मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए।
त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घरघरमा पानी पुर्याउने निर्णय गरेको थियो। त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो।
पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो। केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो।


