काठमाडौँ- सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन्।
सत्तासाझेदार दलकातर्फबाट शिर्ष नेताहरुले आइतबार एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ। ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ,’ अपिलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो,’ अपिलमा भनिएको छ, ‘देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वशर्त भएको स्पष्ट पार्दै लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौँ’ उल्लेख गरिएको छ।’
निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुनसक्नेमा सचेत हुनुपर्ने भन्दै ठबन्धनका पक्षमा दृढतापूर्वक उभिन शिर्ष नेताले अपिल गरेका छन्। ‘यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ। हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौैँ,’ अपिलमा भनिएको छ।
सत्तासाझेदार दललले कृष्णप्रसाद सिटौला, चम्पादेवी कार्की, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी विष्णुदेवी पुडासैनी, जीतजङ्ग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी र घनश्याम रिजाललाई उम्मेदवार बनाएका छन्।
त्यसैगरी मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहोरा र नारायणदत्त भट्ट पनि उम्मेदवार छन्।


