काठमाडौँ– श्रीमतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँको राजधानीबाट पक्राउ गरेको हो।
आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै गिरीकी श्रीमती आरती गिरीले दिएको जाहेरीका आधारमा प्रहरीले न्यायाधीश गिरीलाई पक्राउ गरेको हो।
जिल्ला अदालत कपिलवस्तुले चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। गत असारमा गिरी जिल्लामा पदस्थापन भएका थिए।
श्रीमती आरतीले आफूलाई बन्धक बनाएर कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाएकी छिन्। गत मंसिरमा नै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन्।
उता न्यायाधीश गिरीले भने श्रीमती आरतीले पैसा चोरेको आरोप लगाएका छन्। न्यायाधीश गिरीकी श्रीमती आरतीविरुद्ध पनि उजुरी दर्ता भएको छ। उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ।
न्यायाधीश गिरी न्यायपरिषद्का सदस्य हुन्।


