जनकपुरधाम- महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका-३ महदैयामा विवाह गरेको ४ महिनामै पतिपत्नीकै मृत्यु भएको छ। २२ वर्षीय राधे सहनी र उनकी श्रीमती २० वर्षीया अस्मिता शर्माको मृत्यु भएको हो।
प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजेतिर अस्मिताको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार अस्मिताका पति राधे सोमबार बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडकछेउको गहुँखेतमा मृत अवस्थामा फेला परेका थिए।
४ महिना पहिलेमात्र विवाह बन्धनका बाँधिएको जोडी बिहेपछि धनुषा जिल्ला क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए।
प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए।
ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितालाई लिएर हिँडेका राधे ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा बिहानपख मृत भेटिएका थिए।
मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
घाइते भएकी अस्मितालाई भने अर्को मोटरसाइकलमा रहेका तीन जना साथीले माइतीमा पुर्याइदिएका थिए। माइत पक्षले अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


