सुर्खेत- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहलाई पक्राउ गर्न अदालतले अनुमति जारी गरेको छ। सुर्खेत जिल्ला अदालतले सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
१५ वर्षअघि एक युवकको हत्या अभियोगमा सिंहलगायत ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या भएको थियो। उक्त हत्यामा संलग्न भएको आरोपमा सिंहलगायतलाई पक्राउ गर्न अनुमति दिइएको हो।
सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’विरुद्ध किटानी जाहेरी दिएका थिए। यसको १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिँदा सिंहसहितमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो।


