काठमाडौँ- रुकुमपश्चिममा खुकुरी प्रहारबाट १ बालकको मृत्यु भएको छ। मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
अर्का एकजना घाइते भएका छन्। मुसीकोट नगरपालिका ११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले डांगीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।
खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएका हुन्।
डिएसपी भट्टराईका अनुसार डाँगीको घाँटी रेटेर हत्या गरिएको छ। घटना आज दिउँसो १२ बजेतिर भएको हो। खुकुरी प्रहारबाट मृत्यु भएका डाँगी दिदीको घरमा बसेर पढ्दै आएका थिए।
उनी मुसीकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ। खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते सुकलालको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। उनको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


