भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राणप्रतिष्ठा गरेका हुन्।
भारतीय समयअनुसार सोमबार दिउँसो १२ बजेर २९ मिनेटको शुभसाइतमा मन्दिरको प्राणप्रतिष्ठाको मुख्य पूजा सुरु भएको थयो।
प्राण प्रतिष्ठा कार्यक्रमपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जहाँ राम मन्दिर बनाउने भनिएको हो त्यहीँ बनाइएको बताए। आफूलाई खुशी लागेको बताउँदै उनले भने, ‘५ सय वर्षपछि मनमा यस्तो भावना आइरहेको छ कि जुन कुरा व्यक्त गर्न शब्द नै मिलिरहेको छैन। निश्चित रूपमा तपाईंहरूलाई पनि यस्तै महसुस भइरहेको होला।’
मोदी राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका मुख्य यजमान थिए।
मोदीका साथै योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत, युपीका राज्यपाल आनन्दी बेन पटेललगायतका कार्यक्रममा सहभागी थिए।
प्राणप्रतिष्ठा भइरहेको समयमा भारतीय वायुसेनाको हेलीकोप्टरले पुष्पवृष्टि गराएको थियो।
कार्यक्रममा देशभरका सयौँ हस्तीहरूलाई बोलाइएको थियो।
अमिताभ बच्चन, रजनिकान्त, सचिन तेन्दुलकर, मुकेश अंबानी, नीता अंबानीलगायतका सेलिब्रेटीहरू कार्यक्रममा पुगेका थिए।
कार्यक्रममा हजारौँ सहभागी भएको त्यहाँका मिडिया रिपोर्टले उल्लेख गरेका छन्।
सोनू निगम, अनुराधा पौड्याल, शंकर महादेवनलगायतका कलाकारले रामभजन गाएर कार्यक्रम शुरु गरेका थिए। यसपछि श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरसँग जोडिएका कैयौँ विषयमा जानकारी गराएका थिए।
राम मन्दिरमा बनाइएको रामको मूर्ति बनाउन कर्नाटकबाट ल्याइएको हो। मैसूरका अरुण योगीराजले रामको प्रतीमा बनाएका हुन्।
उद्योगपति मुकेश अम्बानीले राम मन्दिरको प्राणप्रतिष्ठा गरीएको दिन पुरै देशमा उत्सवमय भएको बताए। नीताका अनुसार यो दिन ऐतिहासिक हो।
सायना नेहवालले भारतीयका लागि यो विषय गर्वको विषय भएको बताइन्। आफूलाई कार्यक्रममा बोलाइएकोमा उनले कृतज्ञता व्यक्त गरिन्।
विवेक ओबरायले कार्यक्रमको माहोल जादुमय भएको उल्लेख गरे।
यूपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवले पनि कार्यक्रमप्रति खुशी व्यक्त गरे।
कार्यक्रममा भारतीय सेलिब्रेटीहरू कंगना रनौत, संघ प्रमुख मोहन भागवत, नीता अंबानी, मुकेश अंबानी, सचिन तेंदुलकर, उमा भारतीलाई पनि बोलाइएको थियो।
यस्तै एक्टर पवन कल्याण, निर्देशक सुभाष घई, एक्टर चिरंजीवी, कैलाश सत्यार्थी, अनू मलिक, रणबीर कपूर, आलिया भट्ट, विक्की कौशल, कटरीना कैफ, जैकी श्राफलाई पनि कार्यक्रममा बोलाइएको थियो।
यस्तै योगगुरु रामदेव, धीरेंद्र शास्त्री, अनिल कुंबले, अनुपम खेर, अभिनेत्री कंगना रनौत, विवेक ओबरय र बैडमिंटन खिलाड़ी सायना नेहवाललगायतका सेलिब्रेटीहरू उपस्थित थिए।
सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।
राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउन माग गर्दै आएका थिए। सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो।
सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राणप्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए।
मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ। प्राणप्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ।









