काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले कार्यभार सम्हालेका छन्।
माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका परियारले बुधबार कार्यभार सम्हालेका हुन्।
पदबहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए।
‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो। हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ। यसका लागि हामीले काम गर्नु पर्नेछ,’ उनले भने।
सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे।
वि. सं. २०६९ सालमा नायव सुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका थिए।
परियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरेका छन्।
उनले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन्।
यसअघि महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएका छन्।


