काठमाडौँ- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन्। शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन्।
शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन्।
यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबीच छलफल भएको थियो।
छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनी सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो।
त्यसपछि आफूले प्रहरीको ज्यादती बढी भयो भनेपछि आफूमाथि पनि आक्रमण भएको हमालले बताए। आफूमाथि लात्ती प्रहार भएको हमालको दाबी छ।


