काठमाडौँ- पूर्वडीआइजी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या भएको टिप्पणी गरेका छन्।
सडक दुर्घटना बढ्दै गएको सन्दर्भमा शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै खरेलले सडक जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि भ्रष्टाचार हुनु राष्ट्रिय लज्जाको विषय भएकोसमेत उल्लेख गरेका छन्।
‘चालकको लापरबाही, सडक र र सवारी साधनको अवस्थाले सधैं दुःख दिएकै छ। त्यसमाथि अवैध लाइसेन्स वितरणले झन् गम्भीर समस्या निम्त्याएको छ,’ खरेलले भनेका छन्, ‘यस्तो गम्भीर क्षेत्रमा पनि वर्षौँदेखि भ्रष्टाचार हुनु राष्ट्रिय लज्जा हो। सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या हो।’
यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने संविधानमै व्यवस्था भएपनि कार्यान्वयन नभएको उनको भनाइ छ।
सडक दुर्घटनामा दैनिक मानिसले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उनले वर्षभरिको तथ्यांक निकाल्दा अवस्था भयानक हुने उल्लेख गरेका छन्।
‘सडक दुर्घटनामा दिनकै मानिसले अनाहकमा ज्यान गुमाइरहेका छन्। वर्षभरिको तथ्यांक निकाल्ने हो भने यो अवस्था भयानक छ,’ खरेलले लेखेका छन्, ‘यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने संविधानमै व्यवस्था भएपनि यो फिटिक्कै कार्यान्वयन भएको छैन।’


