काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडी जिल्लाको झौखेलमा भएको जिप दुर्घटनाबाट पीडित बनेकाहरूका आफन्तलाई उचित क्षतिपर्ति व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै जोशीले पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन्।
‘बझाङ जिल्लाबाट रोजगारीका लागि भारत गएका मजदुर फर्कर्दै गर्दा बैतडी जिल्लाको झौखेल भन्ने ठाउँमा जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। ५ जना घाइते छन्। उनीहरका परिवारले न्याय पाउनको लागि बाटोमा उत्रिएका छन् । सरकारले तत्काल आवश्यक व्यवस्था गरोस्।’
गए राति पाटन नगरपालिका-८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट खस्दा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको थियो। से १ ज ७६४ नम्बरको जिप दुर्घटना पर्दा ६ जनाको मृत्यु भएको थियो भने जिपमा सवार चार जना हामफालेका कारण जोगिएका थिए।
दुर्घटनामा मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझगाउँका नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामी छन्। जिपका चालक सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ।


