काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले शिक्षा शाखा प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।
मेयर संयोजक रहने शिक्षा समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भन्दै पत्र लेखेपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन्।
उनलाई मेयर शाहले ७ दिनभित्र सफाइ पेश गर्न म्याद दिएका छन्।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुने गरी सात दिने स्पष्टीकरण सोधिएको बताए।
कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै रत्नराज्य स्कुललाई विज्ञान विषयमा ‘प्लस टु’का कक्षा सञ्चालन गर्न अनुमति दिएका थिए।
महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो।
कोइरालाको पत्रमा नगर शिक्षा समितिको निर्णयअनुसार अनुमति दिइएको भनिएको थियो। तर, समितिले यो विषयमा कुनै निर्णय नगरेको तर, शिक्षा प्रमुखले अनुमति दिएको पाइएपछि सफाइ पेश गर्ने मौका दिइएको महानगरको भनाइ छ।


