काठमाडौँ– काठमाडौँको रत्नपार्कनजिकै शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ। मंगलबार बिहान नगर प्रहरीको टोलीले धर्नामा बसेकालाई लछारपछार गर्दै लखेटेको पीडितहरुले बताएका छन्।
शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहका आफन्तलगायत धर्नामा बस्दै आएका थिए।
‘बिहान साढे ८ बजेतिर महानगरीयका प्रहरी आएर हाम्रो सामान फालिदिए,’ एक धर्नाकारीले भने, ‘पकाएको भात पनि खान दिएन। दुर्व्यवहार पनि गर्यो।’
यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो। माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो। तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्ना बस्दै आएका थिए।
११ महिनादेखि शान्तिवाटिका कब्जा गरेर बसेको र रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।





















