काठमाडाैँ- नेपाल रेडक्रस सोसाइटीले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता नरहेको भन्ने खबरको खण्डन गरेको छ।
सोसाइटीका महासचिव भूपतिलाल श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता ६० वर्ष पहिले नै प्राप्त गरेको र पछिल्लो समय कुनै निर्णय र फेरबदल नभएको दाबी गरेका हुन्।
साउन २ गते सम्पन्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको निर्वाचनले सुदर्शनप्रसाद नेपालको नेतृत्वमा निर्वाचित समितिले नियमित गतिविधि गर्दै आइरहेको यो समिति नै आधिकारिक भएको विज्ञप्तिमा दाबी गरिएको छ।
सोसाइटीले सबै वैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा लेखा परीक्षण, वार्षिक साधारणसभा, समाज कल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेकाले आफूहरूको वैधानिक पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबार आईएफआरसीले रेडक्रसको केन्द्रीय कार्यालयसँग सहकार्य नसकिने भन्दै नेपाल रेडक्रस सोसाइटीलाई इमेल पठाएको विषय कान्तिपुर दैनिकले प्रकाशन गरेको थियो।



