काठमाडौँ- एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले ९ रनको क्षतिमा ५० ओभर खेल्दै २८५ रन जोडेको हो।
टस जितेर ब्याटिङ रोजेको क्यानडाका ओपनर आरोन जोन्सन र नवनीत धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाएका थिए। जोन्सनले ६५ रन जोड्दा नवनीत अर्धशतकबाट ४ रन मात्रले चुके।
नेपालले पहिलो विकेटका लागि १८.३ ओभरसम्म पर्खनुपरेको थियो। त्यतिबेलासम्म क्यानडाले ९४ रन जोडिसकेको थियो। १९औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो।
नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ। आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन्। क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन्।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह


