काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको यात्रामा काठमाडौँले ब्रेक लगाएको हो।
दुई खेलमा काठमाडौँको यो पहिलो जित हो। जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।
कर्नालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्नालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो।
जसमा अरिफूल स्लामले ४४,हुसैन तलतले ४०,पवन सराफले ३० रनको योगदान गरे। काठमाडौँका कप्तान करण केसीले २ विकेट लिए।
आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।


