काठमाडौँ– नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङ छन्।
प्रहरीका अनुसार, उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका-४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’ देखाएका थिए।
सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर ७ लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै भक्तपुर प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी वसन्त पाठकले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ।


